कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ वर्ष देखि दोधारामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीयहरू आकर्षित भएका हुन्। महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० जना सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैद्य राजु जोशीले बताउनुभयो।
आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उहाँको भनाई रहेको छ। आयुर्वेद औषधीले कुनै पनि प्रकारको साइड ईफेक्ट नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको बैद्य जोशीले बताउनुभयो। पहिलेको तुलनामा बिरामीहरूको संख्या साथै पञ्चकर्म लिनेहरूको संख्यामा समेत वृद्धि भएको उहाँले बताउनुभयो।
सरकारको नीति तथा कार्यक्रम अनुसार सबै स्थानीय तहमा आयुर्वेदिक उपचारमा स्थानीयको पहुँच बढाउने उद्देश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताईएको छ।
दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत डम्मर ध्वज अवस्थीले आर्युेवेदिक उपचारको महत्त्व धेरै बढेर गएको बताउनुभयो। नागरिकहरूमा आर्युेवेदिक सेवाको आकर्षण बढेर गएको उहाँको भनाई रहेको छ। नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा दोधारा चाँदनी नगरपालिका र सुदूरपश्चिम सरकारले सघाउदै आएको उहाँको भनाई रहेको छ।
आरोग्य सेवा केन्द्र दोधारा चाँदनीमा बैद्य राजु जोशी, अभ्यंकर्ता महेश राज बिष्ट र लक्ष्मी कुमार ऐर कार्यरत रहेका छन्। आयुर्वेदिक उपचार तथा औषधीका लागि भारत तथा सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। सेवा केन्द्रमा विशेषगरि ग्याष्ट्रिक, बाथरोग, सुगर, पायल्स लगायतका बिरामीहरू आउने गरेका छन्। केन्द्रमा २३ प्रकारका औषधी, उपचारको परामर्श, योग र पञ्चकर्म सेवा अन्तर्गत पूर्व कर्म सेवा उपलब्ध गराईँदै आएको सेवा केन्द्रले जनाएको छ।