Breaking News

ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थाप कार्य तीव्र

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य तीव्ररूपमा भइरहेको छ। स्थानीय जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरूको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो। शुक्रबार जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरू बीच ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल भएको छ।

भीमदत्त नगरपालिकाका उप-मेयर निलम जोशी लेखकले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। अहिले ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि पालिका, वडा कार्यालय, विभिन्न संघसंस्था साथै सबै सरोकारवाला निकायहरूले चाँसो देखाएको बताउनुभयो। उहाँले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण कार्यहरू गरि हरियाली प्रवर्द्धनका लागि काम भईरहेको तर्क गर्दै यसले स्थानीय बासिन्दाहरूलाई स्वच्छ हावा प्रदान गर्नुको साथै उनिहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर-१८का वडा अध्यक्ष  रविन्द्र प्रसाद देवकोटाले ईको पार्क व्यवस्थापनको काम सुरू भएको बताउनुभयो। यो सुरूवात मात्र भएको भन्दै उहाँले सबै संघसंस्था साथै सरोकारवाला निकायहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत ईको पार्क व्यवस्थापनका लागि लगानी गरि आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गर्नुभयो।

ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायतले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरू ल्याएकोमा धन्यवाद दिनुभयो। उहाँले ईको पार्क व्यवस्थित र हराभरा भएमा यसबाट स्थानीयसँगै  सिंगो भीमदत्त नगरपालिकाबासीले लाभ लिन सक्ने बताउनुभयो।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले ईको पार्कमा कस्ता बिरूवा लगाउने? कहाँ-कहाँ लगाउने? भन्ने विषयमा छलफल गर्नका लागि कार्यक्रम गरिएको बताउनुभयो। उहाँले ईको पार्कको संवर्धन गरिएपनि त्यसको संरक्षण चुनौतीको विषय भएको बताउनुभयो। त्यसका लागि सर्वप्रथम ईको पार्क परिसरमा तारबार लगाउने काम सम्पन्न गरिएको उहाँले बताउनुभयो। उहाँले  ईको पार्कको पार्क संरक्षण, संवर्धन र व्यवस्थापन कार्यका लागि पालिका, वडा कार्यालय, संघसंस्था, स्थानीय साथै सरोकारवाला निकायहरू आ-आफ्नो स्थानबाट जिम्मेबार हुनुपर्ने बताउनुभयो।

बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न लागिएको हो। सोही क्रममा ईको पार्कमा कस्ता बिरूवा लगाउने? कहाँ-कहाँ लगाउने? भन्ने विषयमा छलफल गरिएको हो।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप-मेयर निलम जोशी लेखक, वडा नम्बर-१८का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, कार्यपालिका सदस्य, वडा सदस्यहरू, ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायत, पूर्व उपमेयर इश्वरी प्रसाद खरेल, भीमदत्त नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख मनोज प्रसाद भट्ट, एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, एनएनएसडब्ल्यूएका देवराज बडु, गणेश ठगुन्ना लगायत उत्थानशील युवा सञ्जाल साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Surendra Jairu

Check Also

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *