कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई रहेको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकायले भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा खासै चाँसो देखाएको पाइँदैन।
विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा वर्सेनी जोगबुडा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि खासै पहल भएको देखिदैन। कुतियाकवर बस्ती नजिकको जमिन महाकाली नदीले तिव्र कटानी भईरहेको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर बस्तीका स्थानीयबासी टेक बहादुर सुनारले बताउनुभएको छ।
अहिले सिमा क्षेत्रमा नेपाली भुमी महाकाली नदीले जग्गा कटानी गरेर नदीमा परिणत गर्दै आएको सुनारको भनाई रहेको छ।पुरानो र सानो संख्यामा आफुहरू दशकदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत समेत नदेखाएको उहाँको गुनासो छ। सुनारका अनुसार उत्तर/पुर्व तिरबाट महाकाली नदीले मात्रै नभई, दक्षिण तर्फ जोगबुडा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ।
कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ। महाकाली नदी र जगबुडा नदीको दुवै तर्फ जग्गा कटान हुदा वर्सेनी बस्ती सााघुरिदै गएको छ। अहिले आएर महाकाली नदीले बस्तीको पुर्व/दक्षिण दिशा तर्फबाट नियमित जग्गा कटान गरिरहेको छ। कटानकै कारण सीमा स्तम्भ नं. २२ लामो समय देखि हराएको छ। कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ। नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाँउमा अहिले महाकाली बग्छ। कुतियाकवर बस्ती पारी सीमामा भारतको बंगाली कलौनी पर्छ। कुनै बेला सीमा र राष्ट्रियताको विषयमा कुतियाकवर देखि कालापानी सम्म अभियान समेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउन लाग्दा पनि कोही नबोलेको अर्का स्थानीयबासी खड्के बुढाको गुनासो छ।
२०३९ साल देखि आफुहरू बाढीको पीडा झेल्दै आएको खड्के बुढाले बताउनु भएको छ। बस्ती जोगाउन पक्की तटबन्ध निमार्णको माग राख्दै आएपनि अझै सम्म आफुहरुको माग सम्बोधन नभएको पीडा रहेको स्थानियबासी बुढाको रहेको छ। तीनमा झण्डै २ बिघाह जग्गा नदीले कटानी गरेको उहाँको भनाई रहेको छ। बस्ती सँग सीमा जोगाउन नेपाल सरकार सचेत हुनुपर्ने उनिहरुको भनाई रहदै आएको छ।
१ सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४४ परिवारमा समेटिएको छ। बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय सरकार तथा प्रशासन सक्रिय देखिएता पनि दीर्घकालीन रूपमा बस्ती जोगाउने गरी योजना बनाउन नेपाल सरकारको खासै पहल देखिएको छैन। जग्गा कटानले बस्ती जोखिम मात्रै होईन सीमाको माटो पनि दिन दिनै नदीले बगाउदै जाँदा भुमी अतिक्रमण हुने समेत त्रास बढेर गएको छ।